सामसङले नेपालमा ल्यायो ‘ग्यालेक्सी A08 LTE’: AI फिचर, ६,००० mAh ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट
काठमाडौँ। सामसङ नेपालले आफ्नो लोकप्रिय ग्यालेक्सी ‘A’ सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी A08 LTE’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम दाममा भरपर्दो कार्यक्षमता, उत्कृष्ट AI फिचर, बलियो सुरक्षा र लामो ब्याट्री लाइफ खोजिरहेका युवाहरूलाई लक्षित गरी यो एण्ट्री-लेभल फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
नयाँ स्मार्टफोनबारे जानकारी दिँदै सामसङ नेपालका MX बिजनेशका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले भन्नुभयो, “नयाँ ग्यालेक्सी A सिरिजले थप ग्यालेक्सी प्रयोगकर्ताहरूसम्म नवीनतम् प्रविधिहरू पुर्याउँदै AI को पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट ‘असम इन्टेलिजेन्स’ (Awesome Intelligence) को संयोजनका साथ ग्यालेक्सी A08 LTE ले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ।”
६.७ इन्च डिस्प्ले र आकर्षक डिजाइन
ग्यालेक्सी A08 LTE मा ८.० मिमीको पातलो बडी र ६.७ इन्चको फराकिलो डिस्प्ले दिइएको छ। यसले गर्दा प्रयोगकर्ताहरूलाई दैनिक मिडिया हेर्न र सोसल मिडिया चलाउन सहज र उत्कृष्ट भ्युइंग अनुभव प्राप्त हुनेछ। यो फोन डार्क ब्लु (Dark Blue), सिल्भर (Silver) र ग्रिन (Green) गरी तीनवटा रंगहरूमा उपलब्ध छ।
६,००० mAh को शक्तिशाली ब्याट्री
पटक-पटक फोन चार्ज गर्नुपर्ने झन्झटबाट मुक्त गराउन कम्पनीले यस फोनमा ६,००० mAh (टाइपिकल) को विशाल ब्याट्री समावेश गरेको छ। यसको मद्दतले प्रयोगकर्ताहरूले दिनभर निश्चिन्त भएर कन्टेन्ट स्ट्रिमिङ, गेमिङ तथा इन्टरनेट ब्राउजिङ गर्न सक्नेछन्।
६ वर्षको सफ्टवेयर सपोर्ट र IP64 रेटिङ
दीर्घकालीन प्रयोगका लागि फोनमा धुलो र पानीको छिटाबाट बचाउने IP64 रेटेड सुरक्षा दिइएको छ। साथै, सामसङले यस मोडलमा ६ जेनेरेसनसम्म OS अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, जसले गर्दा फोन आगामी वर्षहरूसम्म सुरक्षित र अद्यावधिक रहनेछ।
मूल्य तथा EMI सुविधा
नेपाली बजारमा ग्यालेक्सी A08 LTE विभिन्न तीनवटा भेरियन्टमा उपलब्ध छ:
४GB RAM / ६४GB स्टोरेज: ३४ हजार ४९९ रूपैयाँ
४GB RAM / १२८GB स्टोरेज: ४० हजार ९९९ रूपैयाँ
६GB RAM / १२८GB स्टोरेज: ४७ हजार ४९९ रूपैयाँ
नयाँ स्मार्टफोन अपग्रेडलाई सहज बनाउन सामसङले १२ महिने किस्ताबन्दी (EMI) सुविधा पनि ल्याएको छ। ग्राहकहरूले प्रति महिना १ हजार ७२५ रूपैयाँको सुरुवाती EMI मा यो फोन खरिद गर्न सक्नेछन्। यो प्रक्रियाका लागि नागरिकताको प्रमाणपत्र मात्र भए पुग्ने कम्पनीले जनाएको छ।



