एमसीसी सम्झौता संसदमा टेबल, फागुन १२ गतेसम्म संसद स्थगित | प्रधानमन्त्री देउवाको प्रतिक्रिया : अब पास हुन्छ
काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् ।
प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’


