८,४५४ जनामा कोभिड १९ पुष्टि, पाँच संक्रमितकाे ज्यान गयाे |
काठमाडौं । बुधबार कुल ८ हजार ४५४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताइए अनुसार २४ घण्टामा भएको १३,५४९ पीसीआर परीक्षण गर्दा ५,५७१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ६,८१० एन्टिजेन परीक्षण गर्दा २,८८३ जनामा संक्रमण पाइएको छ। यसरी कुल २०,३५९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका प्रमुख डा. कृण्ण प्रसाद पाैडेलले बुधबार चार हजार ४३३ जना कोरोना मुक्त भएकाे बताएका छन् । उनले संक्रमणका कारण पाँच जनाको ज्यान गएको पनि जानकारी दिए ।
गत २४ घण्टामा भएको पीसीआर परीक्षणका आधारमा संक्रमण दर ४१.१ प्रतिशत छ जुन अझैपनि अत्याधिक हो । कुल पीसीआर परीक्षणका आधारमा औसत संक्रमण दर भने १८.१ प्रतिशत रहेको छ । मृत्यु प्रति १० लाख जनसंख्यामा ३८४.२ प्रतिशत रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या कुल ९० हजार ६७ रहेको छ। त्यसमध्ये हाेम आइसोलेसनमा ८८,२४८ जना, १,८१९ जना संस्थागत आइसोलेसनमा, २५१ जना सघन उपचार कक्षमा र भेन्टिलेटरमा ४८ जना छन् भने संस्थागत क्वारेन्टिनमा १७१ जना रहेका छन् ।
५०० भन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लाको संख्या दिनानुदिन बढिरहेको मन्त्रालयले जनाएको छ। झापा, मोरंग, सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, काष्की र नवलपरासी, बाँके, रुपन्देही, दांग तथा कैलाली लगायतका जिल्लाहरु पर्दछन् ।


