कर्पोरेट पे – हट्यो चेक भुक्तानीको झन्झट, अनलाइनबाटै अर्बौंको कारोबार |
काठमाडौं । नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको ‘कर्पोरेट पे’ले चेक बोकेर बैंकसम्म पुग्नुपर्ने झन्झट हटाएको छ । सञ्चालनमा आएको छोटो अवधिमै ठूलो संख्यामा संस्थागत ग्राहक बनाइसकेको ‘कर्पोरेट पे’ले चेक बोकेर झेल्नुपर्ने बैंकिङ झन्झट हटाएको हो ।
क्लियरिङ हाउसले गत वर्ष वि.स. २०७७ सालको माघदेखि सञ्चालनमा ल्याएको थियो । यसअघि, कनेक्ट आइपीएस र आईपीएस लगानीका अन्य माध्यमबाट भुक्तानी सेवा दिँदै आएको थियो । तर, ती माध्यमबाट संस्थागत ग्राहकले गर्ने ठूला भुक्तानी सम्भव नभएपछि ‘कर्पोरेट पे’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।
कर्पोरेट पेबाट एउटा ग्राहकले एकै दिन एक करोड रुपैयाँ र मासिक २० करोड रुपैयाँसम्मको भुक्तानी गर्न मिल्छ । यसले मध्यम प्रकारका संस्थागत ग्राहकको कारोबारलाई लक्षित गर्छ । मासिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्न क्लियरिङ हाउसकै नेपाल पेमेन्ट इन्टरफेस सञ्चालनमा छ । चालू आर्थिक वर्षमा कर्पोरेट पेमार्फत १ लाख १९ हजार १०० भन्दा बढी पटक कारोबार भइसकेको छ ।
गत वर्षको माघदेखि सञ्चालनमा आएको कर्पोरेट पेमार्फत गत आर्थिक वर्ष २०७७÷७८ भरीमा ८ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको थियो । यस्तै, क्लियरिङ हाउसले सार्वजनिक गरेको यो वर्षको तथ्यांकअनुसार ६ महिनाको अवधिमा २८ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । यसरी अहिलेसम्म कर्पोरेट पेमार्फत ३६ अर्ब ८० करोड रूपैयाँको कारोबार भइसकेको छ । हाल कर्पोरेट पेमा १५ सयभन्दा बढी संस्थागत ग्राहक आबद्ध भइसकेका छन् ।
कर्पोरेट पेमार्फत अन्तर बैंक कारोबार र फण्ड ट्रान्सफर गर्न सकिन्छ । यस्तै, कर्मचारीको तलब भुक्तानी, भेन्डरलाई भुक्तानी, सरकारी राजश्व र आम्दानीको भुक्तानी समेत गर्न सकिन्छ । सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा समेत भुक्तानी गर्न सकिने बताइएको छ ।
कर्पोरेट पेमा आबद्ध हुन कनेक्ट आईपीएसमा जस्तै आफ्नो खाता भएको बैंकमा फर्म बुझाउनुपर्छ । फर्म बुझाएपछि सम्बन्धित बैंकले संस्थागत ग्राहकको बैंक खाता कर्पोरेट पेसँग आबद्ध हुने कम्पनीको भनाई छ । क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले संस्थागत ग्राहकको आकर्षण बढीरहेको बताए । उनले आर्थिक वर्षको ६ महिनाको अवधिमै यति ठूलो कारोबार हुँदा कम्पनी उत्साहित रहेको र कारोबार सम्भावना अझै बढ्दै जाने सम्भावना रहेको बताए ।


