नबिल बैंक र डी भी एक्सिलसबीच सहकार्य, कृषि कर्जाको लागि किसानलाई सहयोग पुग्ने |
काठमाडौं। खेती एपमा आबद्ध भएर व्यवसायिक कृषिमा काम गरिरहेका किसानले अब नबिल बैंकबाट सजिलै कर्जाको सुविधा पाउने भएका छन्। यसका लागि नबिल बैंक र डीभी एक्सिलस (खेती एप)बीच सम्झौता भएको छ।
खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुलाई लागि कृषि साधन, रसायन, मेसिनरी खरिदका लागि सहज वित्तीय सेवा दिन
सम्झौता गरिएको दुवै संस्थाले जनाएका छन्। सम्झौतापत्रमा नबिल बैंकका सीइओ अनिल केशरी शाह र डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, प्रमुख एसएमई तथा लघुवित्त निरज बस्नेत, डीभी एक्सिलसका मुख्य संचालन अधिकृत किरण नायर, मुख्य प्रविधि अधिकृत सुभाष भट्टराईलगायतको उपस्थिति थियो। नबिलका प्रमुख कार्यकारी अधिकृत शाहले दिगो बैकिङलाई प्राथमिकता दिइरहेको नबिलले कृषि क्षेत्रमा लगानी गरेर दिगो विकासलाई सहयोग पुर्याउने बताए।
‘देशको कुल गार्हस्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र कृषि हो। हामी डीभी एक्सिलसगको यस सहकार्यमा कृषकहरुको आवश्यकता अनुसार कर्जा दिएर उत्पादन क्षमता बढाउदै आर्थिक विकासमा सघाउन चाहन्छौं,' उनले भने, 'समाजमा स्वस्थ र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं।’ यस रणनीतिक साझेदारीले किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न सजिलो हुने जानकारी कार्यक्रममा दिइयो।
सहकार्य अन्तर्गत खेती एपको माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ। उक्त एपमा दर्ता भएका किसानले नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन्। डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले आफ्नो संस्थाले किसानलाई खेती एपका माध्यमबाट सेवा दिइरहेकोमा अब किसानले डिजिटल माध्यमबाट कर्जा पाउन अझ सहज हुने बताए।
‘यो सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट किसानहरुलाई सहजै वित्तीय पहुच प्रदान गर्नु हो, जसले साना कृषकहरुलाई नवीनतम टेक्नोलोजी, उपकरण, मसिनरी, प्रविधि र साधनको उपयोगलाई प्रोत्साहित गर्दछ,’ उनले भने ।
३७ वर्ष पुगेको मुलुकको अग्रणी वाणिज्य बैंक नबिलका देशभर १ सय ३५ वटा शाखा कार्यालयहरु छन्। डीभी एक्सिलस प्रालि एक कृषि खाद्य प्रविधि कम्पनी हो। यसले व्यवसायिक कृषिको क्षेत्रमा काम गरिहेको छ। यसले खेती एपबाट किसानलाई आफ्नो सञ्जालमा जोडेको छ। कृषि उपजको उत्पादन बढाउन र त्यसको बजार सुनिश्चित गर्न सघाएको छ। उक्त एपमा १० हजार किसान, ३ हजार उपभोक्ता, एक सयभन्दा बढी रेस्टुरेन्ट र होटलहरु आबद्ध भइसकेको जनाइएको छ।


