राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल |
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त भएका छन् । डा. पौडेल कांग्रेस तथा फुयाँल र लिम्बू माओवादी केन्द्रको सिफारिसमा आयोगमा नियुक्त भएका हुन् ।
फुयाँल र लिम्बू दुबै अघिल्लो योजना आयोगमा पनि सदस्य थिए । नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दुबैलाई हटाएका थिए ।
को हुन् पौडेल ?
युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।
उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।
अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधि उपाधि प्राप्त गरेका पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।


