सात महिनामा ५ खर्ब ६७ अर्ब ७० करोड रेमिटयान्स भित्रियो, १०.९ प्रतिशतले वृद्धि |
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँको रेमिटयान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै समीक्षा अवधिमा रेमिटयान्स आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनː श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।


