अर्थमन्त्री पदसँग विष्णु पौडेलले राजधानी साटे ː कांग्रेस | प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा कांग्रेस आन्दोलित
बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश भए पछि त्यसको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन शुरु गरेको छ ।
उक्त प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गर्दै कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी सार्न नदिन सडक र सदन तताउने उनले बताएका छन् ।
विज्ञप्तिमा नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीवाट राजधानी सार्ने प्रयासको विरुद्ध पार्टीका आम कार्यकर्तादेखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणहरुलाई आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ । वहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णय प्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ ।

प्रदेश राजधानी दाङ सार्ने नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिको पृष्ठभूमिमा पार्टीका महासचिव विष्णु पौडेलले अर्थमन्त्री पद पाउने सहमति भएको कांग्रेसको दावी छ ।
प्रदेश सभाको बैठकमा सरकारले स्थायी राजधानी दाङ सार्ने प्रस्ताव पेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेपछि प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरु उठेर विरोध जनाएका हुन् ।
कांग्रेस सांसदहरु बैजनाथ कलवार, रमा अर्याल र फखरुद्दिन खानले कार्यसूचीको बारेमा जानकारी नदिई एकाएक प्रस्ताव आउनु आपत्तिजनक भएको भन्दै विरोध जनाएका थिए । उनीहरुले सर्वसत्तावाद लादेर यो प्रस्ताव ल्याइएको आरोप लगाएका छन् ।
Visited 1 times, 1 visit(s) today


