अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो, संक्रमित संख्या ६८ लाख बढी |
अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या मंगलबार २ लाख पार भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा संक्रमित संख्या ६८ लाख बढी भइसकेको छ । विश्वमा संक्रमणको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाका कारण मृतक संख्या दुई लाख पुग्नु खतरनाक हुने बताउँदै थिए । उनले योसँगै आफ्नो हस्तक्षेपका कारण मृतक संख्या कम भएको दाबी गरेका थिए ।
मार्च महिनामा ट्रम्पले देशमा कोरोनाका कारण हुने मृत्यु एक देखि दुई लाखकोबीचमा रहेमा देशले कोरोनाविरूद्धको लडाईंमा राम्रो काम गरेको देखाउने बताएका थिए ।
तर मृतक संख्या दुई लाख नाघेसँगै कोरोना नियन्त्रणलाई लिएर महामारीको सुरूदेखि नै सोको व्यवस्थापनका लागि आलोचना खेप्दै आएका ट्रम्पका लागि मृतकको यो संख्याले उनले राम्रो काम गर्न नसकेको देखाएको छ ।
मृतक संख्या २ लाखमा सिमित गर्ने दाबी ट्रम्पले गर्दै आएको भएपनि कोरोना रोकथाममा ट्रम्प प्रशासनले बनाएको टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउचीले भने कोरोनाका कारण २ लाख ४० हजार मानिसको मृत्यु हुने बताउँदै आएका थिए ।
अन्य विज्ञहरूले भने सामाजिक दूरी र मास्क प्रयोगमा अमेरिकी जनतामा देखिएको उदासिनताले मृत्यु संख्या अनुमान गरिएभन्दा धेरै हुने बताउँदै आइरहेका थिए ।
यस्तै युनिभर्सिटीको वासिङ्टनको स्वास्थ्य इन्सिट्यूटले वर्षको अन्त्यसम्म कोरोनाका कारण हुने मृत्यु ३ लाख ७८ हजार पुग्ने प्रक्षेपण गरेको छ । उसले संक्रमणका कारण डिसेम्बरमा दैनिक ३ हजार जनासम्मको ज्यान जानसक्ने जनाएको छ ।
हालैका दिनहरूमा नर्थ डकोटा, युटा, विन्सकन्सिन लगायतका अमेरिकी राज्यहरूमा संक्रमित संख्यामा तीब्र वृद्धि देखिएको छ । संक्रमित बढेको भन्दै विन्सकन्सिन राज्यका गभर्नरले राज्यमा नयाँ जनस्वास्थ्य आपतकालको घोषणा गरेका छन् ।
योसँगै मास्क लगाउनुपर्ने अनिवार्य नियमलाई उनले नोभेम्वर महिनासम्मका लागि बढाएका छन् । अमेरिकामा जनवरीमा पहिलोपटक कोरोना संक्रमित फेला परेका थिए।


