साना उद्यमीलाई सरल कर्जा दिदैं प्रभु बैंक |
काठमाडौं । प्रभु बैंकले साना उद्यमीलाई सरल कर्जा उपलब्ध गराएको छ। बैंकले महिला अटो चालकलाई ५ प्रतिशतमै ऋण उपलब्ध गराएको हो ।
आइडिया स्टुडियोसँगको सहकार्यमा बैंकले पहिलो चरणमा १० जना टेम्पो चालकलाई १/१ लाख रुपैयाँ सरल कर्जा प्रदान गरिसकेको छ ।
कोभिड- १९ महामारीका कारण पैसाबाट संक्रमण नफैलियोस् भनेर बैंकले टेम्पोमा क्यू आर कोड प्रविधि जडान गर्ने योजना समेत बनाएको छ ।
यससगै बैंकले फोनबाट नै भाडा तिर्न सहज होस् भनेर क्रेडिट र डेबिट कार्ड प्रयोग गर्न मिल्ने प्रविधि जडान गर्ने योजना बनाएको छ ।
बैंकले यो कर्जा योजना अन्य पेशा, उद्यम, व्यवसाय र काठमाडाै उपत्यका बाहिर पनि लागू गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।
उनकाअनुसार यसले व्यवसायहरुको आर्थिक कठिनाइलाई व्यवस्थापन गर्न र महामारीमा उनीहरुका पेशा, उद्यम र व्यवसायहरुलाई पुनःसुचारु गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।
बैंकले घरेलु महिला कामदारहरुलाई पनि सरलकर्जा प्रदान गर्ने भएको छ । ६ महिनादेखि घरेलु कामदारहरु बेरोजगार भएको कारण उनीहरुको जिविकोपार्जनको लागि ५ प्रतिशत ब्याजमा सस्तो कर्जा दिन लागिएको हो। साथै ब्युटिपार्लर सञ्चालकहरुलाई पनि ऋण दिन लागिएको छ ।
कोभिडका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ बैंकले यस्ता कर्जाहरु उपलब्ध गराउन लागेको बताइएको छ ।


