नारायणीमा हाम फालेकी युवतीलाई आफैले लगाएको लुगाले जोगायो |
काठमाडौं । सोमबार साँझ सवा ६ बजे ईलाका प्रहरी कार्यालय गैंडाकोट, पूर्वी नवलपरासीमा नारायणी नदीमा एक युवतीले हाम फालेको खबर आयो ।
खबर पाउनेबित्तिकै प्रहरी कार्यालय नारायणगढको टोली घटनास्थल पुग्यो । तर हाम फालेकी महिला भने फेला परिनन् । प्रहरी टोलीले केहीबेर खोजी गर्यो् । रात छिप्पिँदै गएपछि खोज्न गाह्रो भयो र पानीको बहाव पनि उच्च भएपछि टोली फर्कियो ।
मंगलबार बिहान साढे ६ बजे चितवन प्रहरी कार्यालयमा फोन आयो ।
’भरतपुर महानगरपालिका–४ रामघाट नजिक नारायणी नदीको टापुमा कसैले हात हल्लाउँदै छ । उद्धार गर्न मद्धत माग्दै छन्,’ फोनबाट कसैले सूचना दियो । बिहान मर्निङ वाकमा गएका मान्छेले खबर गरेका रहेछन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्य थापाका अनुसार तत्कालै प्रदेश प्रहरी कार्यालयबाट विपदको लागि खटिएको राफ्ट बोटको टोली घटनास्थलमा पुग्यो ।
केहीबेरमै नदीको टापुबाट युवतीको उद्धार भयो । प्रहरीले उनलाई चितवनको महिला बालबालिका सेवा केन्द्रमा काउन्सिलिङ गराई थप उपचारका लागि भरतपुर अस्पताल पठाएको थियो ।
डिएसपी थापाका अनुसार ती २२ वर्षीया युवतीको स्वास्थ्य अवस्था सामान्य छ ।
उनी जोगिएपछि प्रहरीले आत्महत्या गर्नुको कारण के होला भन्ने सोधीखोजी त गर्यो । तर उक्त घटना हुनबाट उनी कसरी जोगिइन् भन्ने समेत अनुसन्धानको पाटो बनेको थियो ।
प्रहरीले गरेको अनुसन्धानमा ती युवतीले लगाएको लुगाका कारण जोगिएको खुलेको छ । ’घरायसी समस्याका कारण उनले नारायणी नदीको पुलबाट हाम फालेकी हुन् । तर उनको लुगाले जोगायो,’डिएसपी थापाले भने ।
ती महिलाले प्रहरी समक्ष दिएको बयान अनुसार नदीमा हाम फालेको केही मिनेटसम्म पनि उनी डुबिनन् । जसले उनलाई आफ्नो जीवनको महत्व बुझायो ।
उनले पातलो लामो जामा (गाउन) लगाएकी थिइन् । डुबेर आत्महत्या गर्न खोजेकी महिलालाई उनको लुगाले मर्न भने दिएन ।
’केही मिनेटसम्म पनि नडुबेपछि भगवानले बचाउन खोजेको भन्ने सोचें,’ युवतीको भनाइ उद्धृत गर्दै डिएसपीले भने,’ लुगा पनि बेलुन जस्तो बनेको थियो । जसले डुब्न दिएन र पछि हात खुट्टा चलाउन थालें ।’
उनका अनुसार अन्दाजी साढे दुई किलोमिटर त्यसरी नै तैरिएपछि उनी त्यहाँको एक टापु किनारामा पुगेकी हुन् ।
खासै पौडी खेल्न नजाने पनि लुगाले गर्दा उनी टापुसम्म पुग्न सफल भइन् । टापु पुगेर उनले कसैको सहयोग खोजिन् । तर कोही फेला परेनन् ।
’टापु गैंडाकोटतिरै कता होला भन्ने सोचेर उनले कसैलाई खोज्न थालिन् तर भेट्टाइनन्,’ डिएसपीले भने,’त्यसपछि उनले त्यही रात बिताएर बिहान सहयोग माग्न टापु छेउ आइन् ।’



