लकडाउनमा नेता सिटौलाका छोराको बिहे ː चार जना जन्तीबिहे खर्च कोरोना राहत कोषलाई |
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाले आइतबार विवाह सम्पन्न भएको छ ।
अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन् । तीन महिनाअघि हिजोका लागि बिहे मिति तोकिएकोले पूर्व्निर्धा्रित लगनमै बिहे गरेको सिटौलाले बताए ।
‘लकडाउनको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरियो,’ सिटौलाले भने । सिटौला झापाका स्थानीय बासिन्दा हुन् । उनका छोराले झापा नै घर भएकी र भारतमा पढ्दै गरेकी मनिषासँग बिहे गरेका हुन् । बिहेमा आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको उनले बताए । दुलहीका घरमा पनि १० जनामात्रै भेला थिए ।
‘धुमधामसँग बिहे गर्ने अहिले बेला छैन । लकडाउन छ । पहिले नै बिहेको मिति तय गरेकोले सारेनौं,’ सिटौलाले भने ।
जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर थियो । ‘अलि खल्लो हुने रहेछ । धेरैको बिहेमा निम्ता मान्न गइयो । तर आफ्नोमा बोलाउन सकिएन,’ सिटौलाले भने, ‘साधारण हिसाबले छोराको बिहे गरियो । खर्च गरिएन । एउटा पसलबाट साडी र सिन्दुर किनेर ल्याएका थियौं ।’
सिटौलाका छोरा श्यामले बिहे खर्च कोरोना कोषलाई हस्तान्तरण गरेका छन् । ‘साधारण अवस्थामा भएको भए बिहेको भोलिपल्ट घरमा भोज पाक्थ्यो । इष्टमित्र, साथीभाइ भेला हुन्थे,’ सिटौलाले भने, ‘बिहान घर सल्लाह गरेर बिहे खर्च कोरोना कोषलाई दिने निर्णयमा पुग्यौं ।’
उनले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहलाई बिहे खर्चबापतको रकम हस्तान्तरण गरिएको जानकारी दिए ।
‘पाँच लाख स्थानीय सरकारको राहत कोषमा राखिदिएका हौं,’ सिटौलाले भने । भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका, हल्दिवारी गाउँपालिका, विर्तामोड नगरपालिका वडा नम्बर १० लाई राहत रकम दिइएको उनले बताए ।
कोरोनाभाइरस संक्रमण कहिलेसम्म देखिने र लकडाउन कहिले खोल्ने भन्ने निश्चित नभएकोले तोकिएकै मितिमा बिहे गरिएको उनले जानकारी दिए ।


