राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोनमा कुराकानी |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ ।
दुई देशका राष्ट्रपतिबीचको कुराकानी कोरोना भाइरस रोकथाममा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कुराकानीमा राष्ट्रपति भण्डारीले चीनले कोरोना महामारी विरूद्धको लडाइँमा चालेको कदमको स्वागत गरिन् । त्यस्तै उनले कोरोनाविरूद्ध चीनले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद पनि दिइन् ।
राष्ट्रपति सी चिनफिङले नेपालले कोरोना विरूद्ध समयमै सजगता अपनाएकोमा खुसी व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर नियमित काममा फर्किएकोमा पनि उनले खुसी व्यक्त गरेका छन् ।
विज्ञप्तिका अनुसार कोरोनाविरूद्ध नेपालको लडाइँमा आफूहरूले सहयोग गर्ने दृढता पनि चिनियाँ राष्ट्रपतिले व्यक्त गरेका छन् ।


