अमेरिकामा घरपालुवा जनावरहरुमा पनि संक्रमण, बिरालोमा पनि देखियो कोरोना |
कोरोना भाइरसको त्रासमा बाँचिरहेको अमेरिकामा मानिसहरुका साथै घरपालुवा जनावरहरुमा पनि संक्रमण देखिएको छ । न्यूयोर्कमा घरमा पालिएका दुईवटा बिरालो कोरोना भाइरसबाट संक्रमित भएको पाइएको हो । यो अमेरिकामा पाल्तु जनावर संक्रमित भएको पहिलो घटना हो ।
अमेरिकाको कृषि विभाग र संघीय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार, बिरालोलाई सास फेर्न हल्का समस्या देखियो तर तिनीहरु यस बिमारीबाट छिट्टै निको हुने अपेक्षा गरिएको छ । ती बिरालो जुन घरमा थिए, त्यहाँका मानिसहरु वा छिमेकीहरुमा भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।
ब्रोक्स चिडियाखानामा केही बाघ र सिंहहरुमा भाइरसको संक्रमण पाइएपछि अब विश्वभरमा पशुहरुमा पनि भाइरसको पुष्टिका घटनाहरुमा वृद्धि भइरहेको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार, पशुहरुलाई मानिसहरुबाट संक्रमण भएको हुनसक्छ तर पशुहरुबाट पनि मानिसहरु संक्रमित भइरहेका छन् भन्ने कुराको कुनै संकेत छैन । एजेन्सी



