बच्चा च्यापेर सुर्खेत हिँडेकी महिलासहितको टोलीलाई गोरखाका मेयरले गाडी चढाए, बाटो खर्च पनि दिए |
काठमाडौं । पिठ्युँमा झोला र काखमा बच्चा च्यापेर सुर्खेत हिँडेकी एक महिलालाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहयोग गरेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका ७ काँठेघारीकी टीका बस्याल गोरखा पालुङटारबाट बाह्रकिलो बजार हुँदै घर हिँडेकी थिइन् । पालुङटारमा नहर निर्माणमा मजदुरी गर्दै आएकी उनी लकडाउनपछि काम अवरूद्ध भएपछि घर जान निस्केकी थिइन् ।
आइतबार साँझ गोरखा–आँबुखैरेनी सडकस्थित बाह्रकिलो सडकमा हिँडिरहेकी बस्याललाई मेयरले गाडी चढाइदिएर बाटो खर्च पनि दिएका हुन् ।
‘११ जनाको समूह हिँड्दै सुर्खेत जान निस्केका रहेछन् । हावाहुरी र पानी परिरहेको बेला सडकमा हिँडिराखेको देखेँ,’ मेयर पन्तले भने, ‘चार जना महिला पनि हुनुहुन्थ्यो । तीमध्ये एक जनाको काखमा बच्चा थियो ।’
काखमा सानो बच्चा बोकेकी महिलालाई आफूले दुई हजार रूपैंया बाटो खर्च पनि दिएको उनले बताए । मेयर पन्तले कुखुराको दाना बोक्ने गाडी रोकेर मुग्लिनसम्म उनीहरूलाई पठाइदिएका हुन् ।
मेयर पन्तले लकडाउन खुलेपछि फेरि काम गर्न आउन ती श्रमिकहरूलाई आग्रह पनि गरे ।
‘राम्रोसँग घर जानुहोस् । सुरक्षित बस्नुहोस् । लकडाउन खुलेपछि फेरि गोरखा आउनुहोस् है,’ मेयर पन्तले भने ।
सुर्खेत हिँडेकामध्ये एक नविन परियारले गाडीको व्यवस्था गरिदिएकोमा खुसी लागेको बताए ।


