गुल्मीको चन्द्रकोट गाउँपालिकामा आगलागी हुँदा एकको मृत्यु |
काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बसपार्क्स्थित पूर्ण बहादुर खनालको घरमा आगलागी भएको हो ।
आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षीय समिर खनालको मृत्यु भएको छ । पूर्णबहादुर र उनकी श्रीमती रुपा खनाल आगलागीमा परी गम्भीर घाइते छन् ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीका अनुसार खाद्यान्न र ग्यासको समेत पसल रहेको साढे दुई तलाको पक्की घर पूर्ण रूपमा क्षति भएको छ ।
घरको भुइँतलामा रहेका समिरको घटनास्थलमै मृत्यु भएको छ भने उनका बुवाआमा दुवै जना घाइते भएकोले उपचारको लागि पाल्पा मिसन अस्पतालमा पठाइएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए ।
जेठो छोरा भने घरको माथिल्लो तलामा रहेको कारण छतबाट बाहिर हाम फालेर ज्यान जोगिएको अध्यक्ष खत्रीले जानकारी दिए ।
आगलागी कसरी भयो यसबारे आफूलाई थाहा नभएको उनले बताए। आगलागीपछि ग्याँसको सिलिण्डर पड्किँदा घरमा बढी क्षति भएको अध्यक्ष खत्रीले जानकारी दिए ।
‘घाइतेहरूलाई अस्पताल पठाएर अहिले घटनास्थलमा मुचुल्का उठाउँदै छौं’, आगलागी कसरी भएको हो भन्नेबारे घाइतेहरूसँग सोध्न अवस्था थिएन, मृतक समिरको शव पसलभित्रै रहेको छ’, अध्यक्ष खत्रीले भने ।


