२४ घन्टामा ९ सयको कोरोना परीक्षण, वीर अस्पतालमा पनि शुरू |
काठमाडौं । शनिबारबाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण काठमाडौंको वीर अस्पतालबाट पनि शुरू भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अस्पतालमा परीक्षण शुरू भएको जानकारी दिए ।
उनले टेकु अस्तपालबाट पनि कोरोना परीक्षण हुने बताए । योसँगै काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक अन्य दुई ठाउँबाट कोरोना परीक्षण हुने भएको हो ।
शनिबार पनि नयाँ कोरोना संक्रमित थपिएको छैन । अहिलेसम्म ४ हजार ४ सय बढीको नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । गएको २४ घन्टामा मात्रै झन्डै ९ सय जनाको परीक्षण भएको छ ।
अहिले सरकारले कोरोना परीक्षणको दायरालाई बढाएको छ । यसअघि डेढ सयदेखि दुई सय परीक्षण गर्दै आएकोमा दैनिक झन्डै ८ सयको नमूना परीक्षण गर्न थालेको छ ।



