बुटवलबाट हिँड्दै कैलाली जान लागेका मजदुरको सैनामैना नगरपालिकाले गर्यो उद्धार |
बुटवल । बुटवलबाट हिँड्दै कैलालीको टीकापुर जान लागेका मजदुरको रुपन्देहीको सैनामैना नगरपालिकाले उद्धार गरेको छ ।
लकडाउनका कारण बुटवलका बस्न खान अप्ठ्यारो भएपछि हिँड्दै टीकापुर जान लागेका ४२ जना मजदुरहरुलाई सैनामैना नगरपालिकाको व्यवस्थापनमा आज बसमा पठाउन लागिएको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए ।
मुर्गियामा ठुलो समूहमा पैदल हिजो हिँडिरहेको देखेपछि सोधपुछ गरी उनीहरुलाई सैनामैना रहेको योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको थियो । स्वास्थ्य परीक्षण गरेर अहिले गाडीमा पठाउन लागिएको छ ।
मेयर कार्कीले भने, ‘हिजो र आज पटक पटक स्वास्थ्य परीक्षण गरिएको छ । केही समस्या छैन । अव उनीहरुलाई खाना खुवाएर पठाउन गाडी खोजेका छौं, त्यसैमा पठाउछौं । पासको व्यवस्थापन पनि भएको छ।’
उनीहरु बुटवलमा विभिन्न स्थानमा घर बनाउने कार्यमा खट्दै आएको मजदूर रहेको बताइएको छ । बुटवलबाट हिँड्दै कैलालीको टिकापुर जानको लागि कम्तीमा ४ दिन लाग्ने मजुदरले बताएका छन् ।
विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउन भएसँगै सर्वसाधारण र दैनिक ज्याला मजदुरी गरेर घर परिवार गुजार्नेहरु समस्यामा पर्नुका साथै अलपत्र समेत पर्ने गरेका छन् ।



