वीरगञ्ज बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि | संक्रमितको कन्ट्याक्ट ट्रेसिङ जारी ː स्वास्थ्य मन्त्रालय
काठमाडौं । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनː जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनː परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए ।
हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।
लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैँ नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।
‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौँ’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन । घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’
त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उनले बताए ।
कन्ट्याक्ट ट्रेसिङ शुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जमा भेटिएका तीन कोरोना संक्रमितहरुको संसर्ग भएका र उनीहरु गएका स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ शुरु भएको जनाएको छ ।
‘पर्साको वीरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड–१९ को शंका लागि नारायणी अस्पताल, वीरगन्जमा आईसोलेशनमा राली निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।
उक्त परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनː एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार पुन परीक्षण गरिएकोमा त्यहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरू भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।



