भारतमा अप्रिल ३० सम्म लक डाउन हुनसक्ने, लक डाउन कम्तिमा अप्रिल ३० सम्म थप्न मुख्यमन्त्रीहरूको सुझाव |
पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढिरहेको भारतमा लक डाउन दुई साता लम्बिने देखिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार गरेको भिडिओ कन्फरेन्सका क्रममा भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरूले लक डाउन कम्तिमा अप्रिल ३० सम्म थप्न सुझाव दिएका थिए ।
भारतमा कोरोनाको सबैभन्दा धेरै संक्रमण फैलिएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले प्रधानमन्त्रीसँगको भिडिओ कन्फरेन्सपछि आफ्नो राज्यमा लक डाउन ३० अप्रिलसम्म जारी रहने बताएका छन् ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले पनि लक डाउन दुई साता लम्बिने प्रतिक्रिया दिएकी छन् ।
नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले त प्रधानमन्त्री मोदीले लक डाउन थप्ने निर्णय नै गरिसकेको बताएका छन् ।
भारतमा अहिले संसारकै सबैभन्दा ठूलो लक डाउन छ । मार्च २५ देखि भारतले १ अर्ब ३० करोड जनसंख्यालाई लक डाउनमा राखेको हो ।
लक डाउनका बाबजुद् भारतमा कोरोनाको संक्रमण भने दिनदिनै फैलिरहेको छ । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ४० जना मृत्यु भएको छ ।
भारतका विभिन्न राज्यमा अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ । बिबिसी हिन्दीका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४७ पुगेको छ । तीमध्ये ६ हजार ५ सय ६५ जना अहिले पनि अस्पतालमै छन् ।



