३६ जनामा देखियो डेंगी, सचेत रहन सरकारको आग्रह |
काठमाडौं । गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ । इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ ।
प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो ।
‘अब सबैले कोरोनासँगै डेंगीसँग पनि सर्तक रहनुपर्छ,’ महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले भने । उनले डेंगीबाट बच्च सरसफाइमा ध्यान दिनुपर्ने बताए। पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
टेकु सरुवा रोग अस्तपतालका चिकित्सक शेरबहादुर पुन डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताउँछन् ।
‘कसैलाई डेंगीको लक्षण देखिनेवित्तिकै आत्तिनु पर्देन। तर शरीरको भित्री वा बाहिरी भाग कतैबाट पनि रक्तश्राप भयो भने तुरून्त चिकित्सककोमा जानुपर्छ,’ उनले भने । आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो ।



