भारतमा कोरोना संक्रमितको संख्या १०० नाघ्यो, सबैभन्दा धेरै महाराष्ट्रमा |
काठमाडौं । छिमेकी भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार त्यहाँ २४ जना नयाँ बिरामी फेला परेका हुन् ।
कोरोनाका धेरै बिरामी महाराष्ट्र राज्यमा देखिएका छन् । त्यहाँ अहिलेसम्म ३१ जनामा कोरोना भाइरस देखिएको छ। अर्को दक्षिणी राज्य केरलामा २२ जना संक्रमित भेटिएका छन् ।
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा भने अहिलेसम्म ११ जनामा यो भाइरस देखिएको छ । कर्नाटकमा ६, दिल्लीमा ७, लद्दाखमा ३, राजस्थान र जम्मु-कस्मिरमा २-२ जनामा संक्रमण पुष्टि भएको छ । तेलंगना, तमिलनाडु, आन्ध्रप्रदेश र पञ्जाबमा पनि १-१ जना बिरामी भेटिएका छन्। हरियाणा राज्यमा रहेका १७ जना सबै संक्रमित विदेशी हुन् ।
कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म दुई जनाले ज्यान गुमाएका छन् ।
अधिकारीहरूले ठूलो मात्रामा परीक्षण गर्न बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताएका छन् ।



