भारतको नयाँ बजेट ː सुस्त अर्थतन्त्रलाई गति दिने कार्यक्रम आएन, शेयर बजार झर्यो |
काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले दोस्रो बजेट प्रस्तुत गर्दै आयकरको सीमा बृद्धि गरिदिएकी छिन्। भारतमा अब ५ लाखसम्म आम्दानी गर्नेले कुनै पनि कर तिर्नु पर्दैन।
नरेन्द्र मोदी सरकारको बजेट २.० मा सीतारमणले किसानका लागि खास प्याकेज ल्याएकी छिन् । आगामी तीन बर्ष्भित्र किसानको आम्दानी दोब्बरले बढाउने प्याकेज ल्याइएको छ । सरकारले किसानका लागि छुट्टै रेल र हवाइजहाज सेवा उपलब्ध गराउने पनि घोषणा गरेको छ ।
नयाँ दशकको पहिलो बजेटले नयाँ कार्यक्रमहरु सार्बजनिक गरेपनि शेयर बजारका लगानीकर्ता भने उत्साहित देखिन सकेनन् । बजारले बजेटलाई चिसो प्रतिकृया दिएको इकोनोमिक टाइम्सले जनाएको छ ।
नेपालले निक्कै अघि नै शुरु गरेको योजना भारतले पहिलो पटक कार्यान्वयनमा ल्याएको छ । अब भारतीय बैंकहरु डुबेमा ५ लाखसम्मको निक्षेपको बीमा हुने छ । नेपाली बैंक डुबेमा निक्षेप सुरक्षण हुने कार्यक्रम सात बर्षदेखि सञ्चालनमा छ ।
सरकारले आगामी बर्षको आर्थिक बृद्धि लक्ष्य १० प्रतिशत प्रक्षेपण गरेको छ । तर आर्थिक बृद्धि हासिल हुने खालको कार्यक्रम नल्याएको विज्ञहरुले टिप्पणी गरेका छन् । अहिले भारतको अर्थतन्त्र निक्कै सुस्त चलिरहेको छ । मुद्रा कोषले १८ बर्षयताकै कमजोर भनेर टिप्पणी गरेको छ ।
कांग्रेसका नेता राहुल गान्धीले बजेटलाई निक्कै लामो तर केही पनि कार्यक्रम नभएको भनेर प्रतिकृया दिएका छन् । अखिलेस यादवले वाहियात बजेट भनेर टिप्पणी गरेका छन् ।
पछिल्लो समय निक्कै सुस्तसँग चलेको अर्थतन्त्रलाई गति दिने कार्यक्रमको अपेक्षा भएकोमा त्यस्तो केही पनि हुन नसकेको अर्थशास्त्रीहरुले प्रतिकृया दिएका छन् ।
तेजस नामको निजी रेलजस्तै अरु १५० वटा थप्ने सीतारमणले घोषणा गरेकी छिन् । यसैगरी सीतारमणले पूर्वाधार र रेल बजेट बढाएकी छिन् । पूर्वाधारमा पनि राजमार्गमा उनले ठूलो रकम छुट्याएकी छिन् । पूर्वाधार बिस्तारबाट अर्थतन्त्रलाई गति दिने योजना सीतारमणको रहेको विज्ञहरुले टिप्पणी गरेका छन् ।
उनले मोबाइल फोन उत्पादनलाई प्रोत्साहन गर्दै अन्य विद्युतीय उपकरण, मेडिकल डिभाइस उत्पादन गर्ने योजना अगाडि सारेकी छिन् । अर्थमन्त्रीले अनलाइन शिक्षालाई प्राथमिकतामा राख्दै भारतमा पढाइ भन्ने योजना पनि सार्बजनिक गरेकी छिन् ।


