‘रेड बुल’ को ट्रेडमार्क चोरी गरेको भन्दै ‘रेड ब्लु’ माथि कारवाही |
काठमाडौं । सरकारले इनर्जी ड्रिंक रेडबुलको गोरुका चित्र भएको रेडब्लु को आयातलाई रोक्का गरेको छ । पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन, २०२२ अनुसार रेडबुलमा भएकोजस्तो जुधिरहेका गोरुको चित्र भएको रेड ब्लुको आयात रोक्का गरिएको उद्योग विभाग कानून शाखाका उपसचिव टङ्क बहादुर महतले जानकारी दिए ।
यस्तो चित्र नभएको यही नामबाट आयात तथा बिक्रिवितरण गर्न रोक नलगाइएको महतले जानकारी दिए । रेडबुलको उजुरीपछि ‘रेड ब्लु’ लाई पेटेन्ट डिजाइन ट्रेडमार्क ऐनअनुसार उद्योग विभागले ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
रेडबुलले उजुरी हालेपछि रेडब्लु पनि दर्ता प्रक्रियामा गएको थियो । तर १० वर्षअघि नै दर्ता भएको रेडबुलको डिजाइन चोरी गरी हुबहु उत्पादन गरेर बिक्री गरेको विभागले ठहर गरेको छ ।
गोर्खा ब्रुअरीले थाइल्याण्डबाट आयात गरेर उद्योग विभागमा ट्रेडमार्क दर्ता गरी विक्री वितरण गर्दै आएको छ । ट्रेडमार्क चोरी गरेको भनिएको रेडब्लु भने नेपालकै एक कम्पनीले भियतनामबाट आयात गरेर बिना दर्ता नै विक्री वितरण गरिरहेको थियो ।
उद्योग विभागले दिएको जानकारी अनुसार आफूलाई ५ हजार रुपैयाँ जरिवाना हुने भए पछि रेड ब्लुले उच्च अदालत पाटनमा विभागको निर्णय कार्यान्वयन रोकिपाउँ भन्दै रिट दायर गरेको थियो । तर उक्त रिट उच्च अदालत पाटनले गत २४ गते खारेज गरेको छ ।
१० वर्षअघि नेपाल भित्रिएको रेडबुलले राम्रो बजार लिएपछि पछिल्लो समय रेड बुल जस्तै देखिने खोलमा नयाँ उत्पादन गरेर विक्री गर्ने चलन बढेको छ । रेड ब्लु, रेड स्टार, रेड बेल, रेड स्टार जस्ता नामका उत्पादन बजारमा देखिएका छन् । यस्ता उत्पादनहरु बिक्री गर्नका लागि उद्योग विभागमा दर्ता हुनुपर्ने भए पनि जथाभावी बेचिएका छन् ।
उत्पादन हुने वस्तुको खोल कस्तो हुने, खोलमा केके लेखिएको हुने, चित्र केको हुने लगायतका विषयहरु समेटेर दर्ता हुनुपर्ने प्रावधान छ । यी सबै प्रावधानहरुको पालना गर्दै दर्ता भएर रेडबुलले नियमित नविकरण समेत गर्दै आएको छ ।



