वीरगंजमा खुल्यो ’स्न्याक्स’ उद्योग, अब प्याकेटमै चाउमिन, सेकुवा, मम |
काठमाडौं । वीरगंजको गण्डकमा अवस्थित दैनिक उपभोग्य खाद्य सामाग्री उत्पादक उद्योग न्युट्रा फुड्स एण्ड बेभरेज प्रालिले दुई साताभित्र तयारी खाजाको परिक्षण उत्पादन शुरु गर्ने भएको छ ।
स्थानीय यूवा उद्यमीलाई समेटेर म्याग्नस फर्मास्युटिकल्स लगायत आधा दर्जन उद्योग व्यवसायमा नेतृत्व गरिरहेका प्रेम जाटियाले उद्योग सञ्चालन गर्न लागेका हुन् । उनीसहित पाँच जना यूवाको समूहले उद्योग संचालनमा आउन लागेको हो ।
उद्योगमा जाटियाका नियमित साझेदार सन्दीप तुल्स्यानको साथै विष्णु सिकारिया, शशांक सिगान्सी र मनिषप्रसाद साझेदारी गरिरहेका छन् । यो समूहले उद्योग स्थापना गर्नुअघि करिब दुई वर्ष भारतीय बजारबाट रसना र मनपसन्द वेभरेजको पेय पदार्थ आयात र वितरणमा संलग्न रहेको थियो ।
करिब १४ करोड रुपैयाँ लगानीमा निर्मित उद्योग परिसर ३ बिघा फैलिएको व्यवस्थापनले जानकारी दिएको छ । उद्योगले पहिलो चरणमा ’एक्स्ट्रुडेड’ र ’वेक्ड स्न्याक्स’ उत्पादन गर्ने छ । एक्स्ट्रुडेड स्न्याक्स अन्तर्गत विभिन्न खाद्य पदार्थ मिश्रण गरेर पूर्व निश्चित आकार र वजनको खाजा उत्पादन गरिन्छ । त्यस्तै आगो वा तेलको सम्पर्कमा नल्याइ तापको सहायताले पाउरोटी झैं वेक्ड स्न्याक्स उत्पादन गरिने उद्योग व्यवस्थापनले जानकारी दिएको छ ।
प्याकेटमा उपलब्ध तयारी खाजामा नौलो स्वाद दिने उद्देश्य सहित उद्योगको उत्पादनलाई परिस्कृत गरिएको संचालक शशांकले जानकारी दिए । ’बजारमा उपलब्ध स्न्याक्सले नेपाली स्वाद समेट्न सकेको छैन’, संचालक सुशान्तले भने, ’हामी नेपाली स्वाद र परम्परागत खानाको फ्लेभर समेट्नेछौं ।’
उनले वस्तुको विशेषताबारे विस्तृत विवरण दिँदै भने मम, चाउमिन, चाउचाउ, सेकुवा, गुन्द्रुकको स्वाद पनि स्न्याक्सले दिनेछ । स्वादको बारेमा हामीले प्रत्यक्ष बजार सर्वेक्षण गरेर उपभोक्ताको स्वाद र प्राथमिकतालाई बुझ्ने कोशिश गरेका छौं, संचालकले भने, त्यही इनपुटलाई मुख्य विशेषता बनाउने योजना छ ।’
वीरगंज पथलैया औद्योगिक करिडरमा यसअघि जुस, विस्कुट र चकलेटलगायत फास्ट मुभिङ कन्ज्युमर गुड्स (दैनिक उपभोग्य वस्तु) उत्पादक उद्योग भारतीय लगानीको डाबर नेपाल, बंगलादेशी प्रान फुड्सको फ्रेन्चाइज उद्योग हिमाड्री फुड्स, स्थानीय लगानीको सनराइज फुड्स एण्ड वेभरेज, भारतीय लगानीको ब्रिटानिया इण्डष्ट्रिज संचालनमा रहेपनि स्न्याक्स उत्पादन शुरु गर्ने यो पहिलो उद्योग हुनेछ ।
Visited 1 times, 1 visit(s) today


