एनआईसी एशिया बैंक थप शाखारहित बैंकिङ सेवा कावासोतीमा |
काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा जेष्ठ १७ गतेबाट संचालनमा ल्याइएको छ । बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन कावासोती नगरपालिका उप–मेयर प्रेम शंकर मर्दानियाले गरे ।
उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेजका प्रोप्राइटर विकाश गुरुङ लाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैː टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।
बैंकका मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २९ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
Visited 1 times, 1 visit(s) today


