इलाम र पाँचथरका मालपोत कार्यालयमा डिजिटल कारोबार, नमुना कार्यालय घोषणा |
काठमाडौं । इलाम र पाँचथर मालपोत कार्यालयलाई नमुना कार्यालयका रुपमा घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गरिन् ।
अब जनता सेवा लिन आउँदा कर्मचारीबाट अपमानित महसुस हुन नहुने मन्त्री अर्यालले बताइन्। ‘सबैलाई समान ढंगको व्यवहार गर्नुस् सानोतिनो लोभलालच नगर्नुहोस्’ मन्त्री अर्यालले भनिन् ‘जनताको भावना, स्वाभिमानमाथि आँच आउने काम नहोस्, क्विक रेश्पोन्स होस् ।’
सुशासन कायम गर्न मन्त्रालयले नमुना मालपोत कार्यालयको कार्यक्रम अगाडि बढाइरहेको उनले बताइन् । ‘सुशासन कायम गर्ने भनेको सिस्टमबाटै हो’, मन्त्री अर्यालले भनिन्, ‘वान डोर सिस्टम अर्थात एक ठाउँबाट कागज बुझाएपछि आधा घण्टामा सबै काम सकेर घर फर्किने वातावरण बनाउन खोजिएको हो ।’
देशैभरका कार्यालयलाई नमुना बनाउने, डिजिटलाइजेसनमा लैजाने तयारीमा रहेको उनले बताइन् । नमुना मालपोत कार्यालयमा टोकन प्रणाली, बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था, सबै अभिलेख डिजिटलाइज्ड गरिने छ । वान डोर सिस्टम हेल्पडेस्क, बस्न मिल्ने प्रतिक्षालय, टेलिभिजन, अपांगमैत्री शौचालय, स्तनपान कक्ष, तातो चिसो पानीको व्यवस्था पनि कार्यालयमा हुनेछ ।
कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडीले सम्पूर्ण डकुमेन्ट स्क्यान गरेर डिजिटलाइज्ड गरिने बताए । देशभर १३१ वटा मालपोत कार्यालय रहेका छन् । जसमध्ये हालसम्म ६० कार्यालयमा अनलाइन सेवा शुभारम्भ भइसकेको छ ।
Visited 1 times, 1 visit(s) today


