माछापुच्छ्रे बैंकले ल्यायो रियल टाइममा नै खाता खोल्न मिल्ने गरी बैंकिङ्ग सेवा |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९८ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जानकारी दिएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १९८ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।



