यस्तो छ जीवन बीमा कम्पनीहरुको चालू आवको नौ महिनाको अवस्था |
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण १९ वटा कम्पनीले नै प्रकाशित गरिसकेका छन् । नौ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार भएको स्थिति छ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेसँगै बीमा कम्पनीहरु पनि चुक्ता पुँजी वृद्धि गर्दै व्यवसाय पनि विस्तार गरेका कारण व्यापार विस्तार भएको हो ।
जीवन बीमा कम्पनीहरुको सङ्ख्या हालसम्म १९ वटा रहेका छन् । जसमा ७ वटा कम्पनी मात्रै नेपाल स्टक एक्सचेन्स (नेप्से) मा सूचीकृत भएका छन् । १९ वटा जीवन बीमा कम्पनीमध्ये चुक्ता पुँजीको आधारमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीको पुँजी ४ अर्ब ३९ करोड रुपैयाँभन्दा माथि रहेको छ । त्यस्तै ३ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । १ अर्बभन्दा बढी चुक्ता पुँजी १४ वटा कम्पनीको रहेको छन् ।
सबैभन्दा कम चुक्ता पुँजी भने राष्ट्रिय बीमा संस्थान र गुराँस लाइफ इन्स्योरेन्सको रहेको छ । गुराँस इन्स्योरेन्स कम्पनीको ६४ करोड १५ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको खुद मुनाफा हेर्दा सबैभन्दा उच्च नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स नै रहेको छ । यस कम्पनीले ४६ करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको तुलनामा यस कम्पनीले ७ दशमलव २१ प्रतिशतले नाफा वृद्धि गरेको छ । त्यस्तै ३० करोड ६० लाख रुपैयाँ कमाएर दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा मेट लाइफ इन्स्योरेन्स रहेको छ । नेप्सेमा सूचीकृत नभएको यस कम्पनीले २० करोड ४६ लाख रुपैैयाँ नाफा गरेको छ । १९ वटा कम्पनीमध्ये सबैभन्दा कम खुद मुनाफा गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । यस कम्पनीले १ करोड ६८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नाफा बढाउनेमा रिलाबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले १६० दशमलव ३६ प्रतिशतले वृद्धि गरी १५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ९२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
त्यस्तै एसियन लाइफ इन्स्योरेन्सले ६३ दशमलव ५५ प्रतिशतले नाफा वृद्धि गरी ५ करोड ४४ लाख रुपैयाँ कमाएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि ६० दशमलव ७१ प्रतिशतले वृद्धि गरी १२ करोड १४ लाख रुपैयाँ कमाएको छ । जीवन बीमाका १९ वटा कम्पनीमध्ये १४ वटा कम्पनीले नाफा बढाएका छन् भने ४ वटा कम्पनीको नाफा घटेको वित्तीय विवरणमा देखिएको छ । एउटा कम्पनीले भने गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको थिएन ।
तेस्रो त्रैमासमा कुल प्रिमियम संकलनमा पनि सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ८३ अर्ब ९२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । सबैभन्दा कम महालक्ष्मी इन्स्योरेन्सले ३ करोड ३७ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको छ । केही महिना अघि मात्रै सञ्चालनको अनुमति प्राप्त गरेका कारण यस कम्पनीको व्यवसाय कम देखिएको हो ।
त्यस्तै कुल दाबी भुक्तानीमा पनि सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स नै रहेको छ । जसको कुल दाबी भुक्तानी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
सबैभन्दा कम कुल दाबी भुक्तानी ज्योति लाइफ इन्स्योरेन्सको ३७ लाख रुपैयाँ रहेको छ ।चालू आवको नौ महिनामा लाइफ इन्स्योरेन्समध्ये कुल प्रिमियम संकलन १ खर्ब ४९ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ भएको छ भने दाबी भुक्तानी १४ अर्ब ३ करोड ९ लाख रुपैयाँ गरेको छ ।



