सामाजिक सञ्जालको प्रयोगले नेपाल टेलिकमको नाफा १५ प्रतिशतले घट्यो |
काठमाडौं । नेपाल टेलिकमको भ्वाइस सेवा मार्फतको आम्दानी घट्दा समग्र नाफामै प्रभाव पारेको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा यस वर्ष १५ प्रतिशतले नाफा घटेको हो । सामाजिक सञ्जालको प्रयोगले भ्वाइस सेवा मार्फतको आम्दानी घटेको हो ।
टेलिकमले नौ महिनाको अवधिमा ९ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ११ अर्ब ८५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इमो, भाइवरको प्रयोगकर्ता बढेसँगै नेपाल टेलिकमको भ्वाइस सेवा मार्फतको आम्दानी झण्डै एक अर्ब रुपैयाँले खुम्चिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। यस वर्षको ९ महिनाको अवधिमा भ्वाइस सेवा मार्फतको आम्दानी १४ प्रतिशतले घटेको छ ।
एडिएसएलको मासिक सेवा शुल्क एक हजार रुपैयाँ रहेकोमा यस वर्षदेखि कर सहित ८०० रुपैयाँमा झरिएको छ । प्रत्यक्ष आम्दानी घट्नुका साथै चालु आर्थिक वर्षदेखि करका दायरा बढ्दा नाफामा ठुलो असर पारेको हो ।
इन्टरनेटको डाटामा यस अगाडि कर लाग्दैन थियो। यस आर्थिक वर्षदेखि १३ प्रतिशत कर भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको हुँदा नाफामा प्रभाव पारेको हो ।
कम्पनीले टेलिकम सेवा प्रदान गरेर नौ महिनाको अवधिमा २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्ष तुलनामा ६.४२ प्रतिशतले खुम्चिएको हो । गत वर्षको यहि अवधिमा अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
अन्य आम्दानी भने ११ प्रतिशतले बढेर चार अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेको छ । चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८६ अर्ब ४० करोड रुपैयाँ जम्मा भएको छ ।
Visited 2 times, 1 visit(s) today


