नविल बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै, बैंकको ऋणपत्र सबैभन्दा सुरक्षित |
काठमाडौं । नविल बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार बैंकले सबैभन्दा दोस्रो राम्रो ‘इक्रा एनपी एल डवल ए माइनस’ प्राप्त गरेको छ । सबैभन्दा राम्रो रेटिङ ‘इक्रा एनपी एल डवल ए’ लाई मानिन्छ ।
बैंकले पाएको रेटिङ अनुसार उक्त ऋणपत्र सबैभन्दा सुरक्षित रहेको संकेत गर्छ । ऋणपत्र निष्काशन गर्नु अगाडि ऋणपत्रको अनिवार्य रेटिङ गर्नुपर्छ । रेटिङ गर्ने क्रममा एजेन्सीले बैंकको प्रस्तुति, बैंकिङ क्षेत्रमै बैंकको अवस्था, नाफा, बैंकले दिएको लाभांस, बैंकले प्रवाह गरेको ऋणको जोखिम लगायतका क्षेत्रमा अध्ययन गरिन्छ ।
बैंकले प्रदान गरेका ऋणको अवस्था एकदमै सुरक्षित रहेको छ । बैंकले वित्तीय सञ्जाललाई विस्तारै विस्तारै बढाउँदै गरेको हुँदा उक्त ऋणपत्र सुरक्षित देखिएको हो । नाफाका हिसावले नविल निजीस्तरका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा गर्ने बैंकमा पर्छ ।
प्रतिवेदन अनुसार बैंकको जम्मा निक्षेपको ३३ प्रतिशत निक्षेप २० जनाको रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार बैंकले एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । जसमध्ये ४९ अर्ब २९ करोड रुपैयाँ २० जनाको र वाँकी एक खर्ब अन्य सर्वसाधारणको नाममा रहेको छ ।
त्यस्तै ऋण लगानी तर्फ बैंकले २० वटा समुह तथा व्यक्तिको नाममा २७ प्रतिशत प्रवाह गरेको छ । यसले गर्दा बैंकको कस्ट अफ फण्ड तुलनात्मक रुपमा अन्य बैंकको भन्दा कम पर्न जान्छ । यस्तो तथ्याङ्कले बैंकलाई भोलिका दिनमा थप समस्यामा पार्न सक्ने रेटिङ एजेन्सीले जानकारी दिएको छ ।
बैंकको निक्षेप लगानी र कर्जा विस्तार क्रमिक रुपमा बढिरहेको छ । गएका तीन चार वर्षदेखि बैंकले आफ्नो कर्जा लगानी र निक्षेप संकलनलाई विविधीकरण गरिरहेको छ । बैंकले आफ्नो रणनीतिमा शाखा विस्तारलाई प्राथमिकता दिएको हुँदा बैंक अझ सवल र थप प्रतिस्पर्धी हुने एजेन्सीले जानकारी दिएको छ ।
नविल निजीस्तरको पहिलो बाणिज्य बैंक हो । सन् १९८४ मा इमिरेट्स बैंक इन्टरनेशनलको जोइन्ट भेन्चरको रुपमा स्थापना भएको नविल बैंकको प्रमुख शेयरधनीमा चौधरी समुह रहेको छ । एनवी ग्रुप र चौधरी समुहको मात्रै ५३ प्रतिशत शेयर पूँजी रहेको छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ९.६७ प्रतिशत होल्डिङ रहेको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी मध्ये नविल बैंक दोस्रो बजार पूँजीकरण भएको कम्पनी अन्तर्गत पर्छ । बैंकको हाल ७४ वटा शाखा कार्यालय, १२६ वटा एटीएम रहेको छ । बैंकिङ क्षेत्रमा समग्र निक्षेपमा नविलको मात्रै ५.६२ प्रतिशत हिस्सा छ । ऋण लगानी तर्फ ५.५३ प्रतिशत हिस्सा छ ।
Visited 1 times, 1 visit(s) today


