नगरपालिकाको प्रशासनिक कार्यालयमै एनआईसी एशिया बैंकको काउन्टर |
बुटवल । रुपन्देहीको तिलोत्तमामा सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको प्रशासनिक कार्यालयमैं बैंकिङ सेवा शुरु भएको छ ।नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा एनआईसी एशिया बैंकले विस्तारित काउन्टरमार्फत सेवा शुरु गरेको हो ।
बैंकका अनुसार स्थानीय तहको कार्यालयमै बैंकिङ सेवा शुरु गरिएको यो पहिलो नगरपालिका हो । नगरपालिका कार्यालयमा स्थापना गरिएको विस्तारित काउन्टरको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले सेवाग्राहीको सुविधाको लागि नगरपालिकाको आग्रहमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको बताए ।
काउन्टर सञ्चालनले अब नगरपालिकामा सेवाग्राहीले बुझाउनु पर्ने रकम बैंकमार्फत हुने र यसले कार्य व्यवस्थापनमा सहजता ल्याउने नगर प्रमुख घिमिरेको भनाई छ । बैंकका प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले तिलोत्तमा निकै संभावना बोकेको नगरपालिका रहेकाले विस्तारित शाखा सञ्चालनमा ल्याएको बताए ।
बैंकको यो ४० औं विस्तारित काउन्टर हो । बैंकका हाल मुलुकभर २८१ शाखा छन् । तीमध्ये प्रदेश नं. ५ मा मात्र ५१ वटा शाखा छन् ।तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले काउन्टर सञ्चालनले नगरपालिकाका काम–कारवाहीलाई ‘क्यासलेस’ बनाउने बताउँदै नगरपालिकाले विस्तारै करहरुसमेत अनलाइनबाट तिर्न मिल्ने गरी कामअघि बढाउन चाहेको बताए ।

