युनाइटेड फाइनान्समा भारतीय मुथुट फाइनान्सको औपचारिक प्रवेश |
काठमाडौं । मुथुट फाइनान्सले नेपालको वित्तीय क्षेत्रमा लगानी गर्ने भएको छ । भर्खरै सम्पन्न भएको लगानी सम्मेलनका क्रममा मुथुट ग्रुपका अध्यक्ष एमजे जर्जले र युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीबीच ३९ करोड ९० लाख बराबरको लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
मुथुट फाइनान्स कम्पनीले नेपालमा बैंक खोल्ने योजना सार्वजनिक गरेको थियो । नेपाल सरकारले सस्तो मूल्यमा लिजमा जग्गा उपलब्ध गराएमा मुथुटले नेपालमा बैंकले खोल्ने जर्जले बताउदै आएका थिए ।
मुथुट फाइनान्स नेपालमा चौधरी ग्रुपको लगानीमा संचालित युनाइटेड फाइनान्स कम्पनीमा रणनीतिक साझेदार बनेको छ । फाइनान्सले युनाइटेडमा २१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । मुथूट फाइनान्सले युनाइटेडको २० प्रतिशतभन्दा केही बढि संस्थापक सेयर खरीद गर्ने गरि यसभन्दा पहिला नै सहमति भएको थियो ।
मुथुट फाइनान्स भारतकै सबैभन्दा ठूलो गोल्ड फाइनान्सिङ कम्पनी बनेको छ । भारतको कोची प्रदेशमा प्रधान कार्यालय रहेको फाइनान्सले भारतीय बजारमा १८ वटा विविध क्षेत्रमा भारतका ४५ हजार शाखा मार्फत लगानी गर्दै आएको छ । सुन धितोमा राखेर कर्जा उपलब्ध गराउँदै आएको मुथुटले १४९ टन सुनका गहना धितोमा राखेको जानकारी दिएको छ ।

