मलेशियामा हजारौं नेपाली अलपत्र पर्दै | रोजगारी पनि खोसिन्छ, स्वदेश फर्किन पनि समस्या हुनसक्छ : दूतावास
काठमाडौं । नेपालीहरूका लागि वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहेको मलेशियामा आज आइतवार रातिदेखि हजारौं नेपालीहरू अलपत्र पर्ने सम्भावना देखिएको छ । मलेशियाको यही मार्च महिनाको अन्तिम दिन आज आइतवार (राति) देखि आउट सोर्सिङ भिसासम्बन्धी प्रावधान हटाउँदै यस्तो भिसालाई अवैध घोषणा गर्ने निर्णयले यस्तो भिसामा मलेशियामा काम गरेर बसेका हजारौं नेपाली अलपत्र पर्ने सम्भावना रहेको मलेशियास्थित नेपाली राजदूतावासले बताएको हो ।
आउटसोर्सिङ भिसामार्फत न्यूनतम पारिश्रमिक दिने र मानव बेचबिखनका घटनाहरू बढेका कारण मलेशियाले यस्तो प्रावधान हटाउने निर्णय गरेको जानकारी दिएको नेपाली दूतावासले बताएको छ ।
नेपाली दूतावासका अनुसार अब भोलि सोमवारसम्म त्यस्तो भिसामा काम गर्दै आएका नेपालीहरूले कम्पनी परिर्वतन या स्वदेश नफर्केमा कानूनी कारबाही भोग्नुपर्ने र जरिवानासमेत तिर्नुपर्ने हुन सक्छ । मलेशियाको उक्त निर्णयले हजारौं नेपालीहरूको रोजगारी खोसिन सक्ने र स्वदेश फिर्ता हुनलाई पनि समस्या सृजना हुनसक्ने देखिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेशिया शाखाका उपाध्यक्ष दीप खादी लिम्बूका अनुसार १ महिनाअगाडि नै मलेशियाले सूचना दिएको हुनाले यस्तो भिसा अवैध हुने सूचना पाएका नेपाली साथीहरू नेपाल फर्किसकेको बताए । उनले भने, ‘आउट सोर्सिङ भिसा अवैध हुने सूचना नपाउने र सूचना पाइसकेपछि तुरुन्त अर्को भिसा लगाउन सक्नेहरू मात्र मलेशियामा हुनसक्छन् ।’
के हो आउट सोर्सिङ भिसा ?
मलेशियामा हजारौं नेपालीले कुनै एउटा कम्पनीको नाममा त्यहीँ काम गर्ने भनेर भिसा एप्लाई गरी भिसा प्राप्त गरेपछि अर्को कम्पनीमा काम गरिरहेका छन् । त्यस्तो भिसालाई त्यहाँ आउट सोर्सिङ भिसा भनिन्छ ।
प्रायः मालीको कामका लागि कम्पनीवालाले केही पैसा लिएर त्यस्तो भिसा लगाइदिने काम गर्छन् । अनि भिसा प्राप्त गरिसकेपछि अर्को कम्पनीमा अर्कै काम गर्ने गरेका हुन्छन् । त्यस्तो भिसा लिएर अर्को कम्पनीमा काम गरिरहेका नेपालीहरू आजदेखि अवैध मानिनेछन् र अप्ठ्यारोमा पर्ने सम्भावना रहेको मलेसियास्थित नेपाली राजदूतावासले बताएको छ ।

