‘जाऊँ है पोखरा’ अभियानअन्तर्गत चैत २९ देखि फेवा महोत्सव |
काठमाडौं । पोखरामा यही चैत २९ देखि वैशाख १ गतेसम्म फेवा महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धनका लागि ‘जाऊँ है पोखरा’ अभियानअन्तर्गत स्वदेश र विदेशमा बसोबास गर्दै आएका नेपाली र विदेशी पर्यटकलाई पोखराको पर्यटकीय महत्वबारे प्रचारप्रसार गर्न उक्त महोत्सव आयोजना हुन लागेको हो ।
विगत १६ वर्षदेखि यो अभियान शुरू गर्दै आएको क्षेत्रीय होटल संघ नेपालका पूर्वअध्यक्ष एवम् अभियानका प्रवर्तक विश्व शंकर पालिखेले भने, ‘देशको आन्तरिक पर्यटन प्रवद्र्धनलाई दृष्टिगत गरेर हामीले १६ वर्ष अगाडिदेखि यो अभियान शुरू गरेका हौं । पोखरामा मात्र होइन मुलुकको सबै पर्यटकीयस्थल प्रवद्र्धनका लागि शुरूमा त आन्तरिक पर्यटक नै प्रोत्साहित हुनुपर्छ ।’
उनले थपे, ‘पछिल्लो समय सर्वसाधरणको लगाव आन्तरिक पर्यटनमा नै देखिएको छ । सरकारले कर्मचारीहरूलाई पनि पेड होलिडेको सुविधा लागू गरिदिए आन्तरिक पर्यटनमा थप टेवा पुग्ने थियो ।’ पोखरालाई पर्यटकीय राजधानी बनाउने यो अभियानको मुख्य उद्देश्य रहेको पश्चिमाञ्चल होटल संघ पोखराका वर्तमान अध्यक्ष विकल तुलाचनले बताए ।
पछिल्लो समय पोखरामा ६० प्रतिशत आन्तरिक पर्यटकले भरिभराउ रहेको बताउँदै अध्यक्ष तुलाचनले भने, ‘पोखरामा पर्यटकका लागि अहिले स्तरीय होटल संचालनमा आइसेकका छन् । राज्यले आन्तरिक पर्यटन प्रवद्र्धनलाई अंगिकार गर्दै गर्दा हामी प्रभावकारी रूपमा पोखरा पर्यटनको क्षमता विस्तार गर्न लागि परिरहेका छौं ।’
उनले महोत्सव आन्तरिक पर्यटन प्रवद्र्धन र फेवाताल संरक्षण गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको बताए । महोत्सव फेवाताल किनारमा अवस्थित कोमागाने पार्कमा आयोजना गर्न लागिएको उनले बताए । महोत्सव अवधिभर पर्यटकले पोखराका सबै होटल, डुंगा, रेस्टुरेण्ट, प्याराग्लाइडिङलगायतमा आकर्षक छुटको सुविधा पाउने उनले बताए ।
एक लाख पर्यटक आगमनको प्रक्षेपण गरिएको महोत्सवमा गण्डकी प्रदेशमा रहेको संस्कृति झल्कने झाँकी, नाच, रैथाने परिकार, चर्चित कलाकारको प्रस्तुतिलगायतको व्यवस्था गरिएको आयोजकले बताएका छन् । उनले भने, ‘अहिले हामी आन्तरिक पर्यटन वर्ष २०१९ को दौरानमा छौं । नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने दायित्व हाम्रो काँधमा छ । उद्देश्यलाई जाऊँ है पोखरा अभियान र फेवा महोत्सवले टेवा पुग्ने विश्वास हाम्रो छ ।’
नेपाल पर्यटन बोर्डको संयोजकत्वमा होटल संघ नेपाल र गण्डकी प्रदेशको सहयोगमा जाउँ है पोखरा अभियान र फेवा महोत्सव आयोजना गरिँदै आएको उनले बताए ।

