सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्नुस् : सञ्चारमन्त्री |
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीको वातावरण तयार गर्न आवश्यक कानून पारित गरिसकिएको जानकारी दिँदै नेपालमा सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न आह्वान गरेका छन् । उनले ‘नेपाल लगानी सम्मेलन २०१९’ को पहिलो दिन हिजो शुक्रवार सूचना प्रविधिसम्बन्धी सत्रमा त्यस्तो आह्वान गरेका हुन् ।
सरकारले ‘डिजिटल नेपाल परियोजना’लाई सार्थक बनाउन वैदेशिक लगानीकर्तालाई नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गरेको उनले बताए । उनले भने, ‘सरकारले विदेशी लगानीकर्तालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाएको छ । विदेशी लगानीकर्ताहरूलाई लगानीका लागि वातावरण पनि बनिसकेकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी तथा विदेशी उद्यमी र व्यवसायीलाई लगानी गर्न आह्वान गरेको हो ।’
सञ्चारमन्त्री बाँस्कोटाले सूचना प्रविधि नीतिको मस्यौदा तयार भई प्रक्रिया अगाडि बढेको र सूचना प्रविधिसम्बन्धी अन्य कानून पनि निर्माण भइसकेको सो अवसरमा जानकारी दिए । सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा समेत संशोधन गरिसकेको छ ।
सम्मेलनको उक्त सत्रमा वक्ताका रुपमा अमेजन इन्टरनेट सर्भिस कम्पनी भारतका चन्द्र बलानी, जापानको सुमितोमोका महाप्रबन्धक मासाहिरो मियासिता, माइक्रोसफ्टको एशिया प्यासफिक क्षेत्रका प्रबन्ध निर्देशक सोनिया बसिर कविर, नेपालको सफल पाटनर्सका प्रबन्ध निर्देशक आशुतोष तिवारी सहभागी थिए । जापानको सुमितोमो कम्पनीका महाप्रबन्धक मासाहिरो मियासिताले डिजिटल रुपान्तरणका लागि ड्रोन, रोवर्ट र सफ्टवेयरको प्रयोग गरी शिक्षा, कृषिलगायत क्षेत्रलाई सबल बनाउन सकिने उल्लेख गरे ।



