मुक्तिनाथ विकास बैंकको दुई शाखा एकै साथ संचालन |
काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।
महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दैै बिष्टले बैंकको प्रगतिको कामना गर्नुका साथै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

वीरेन्द्रनगर शाखाको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी) ले गरेकी थिइन । शाखा कार्यालय उद्घाटन गर्दै उनले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्छ भन्ने धारणा राखेकी थिइन ।
शाखा कार्यालयहरुको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी अनौपचारीक रुपमा ११४ वटा शाखा, २२ वटा एटीएम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, एटीएम कार्ड सेवा, एवीवीएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ ।



