जापानमा नेपाली कामदार पठाउनेसम्बन्धी सम्झौता गर्ने जिम्मा श्रम सचिवलाई |
काठमाडौं । नेपाल र जापानबीच नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सम्झौतापत्रमा छिट्टै हस्ताक्षर गर्ने तयारी नेपाल सरकारले गरेको छ । त्यसका लागि सम्पूर्ण अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यही चैत ४ गते बसेको मन्त्रिपरिषदको बैठकले सोसम्बन्धी सम्झौतापत्र (मेमोरेन्डम अफ कोअपरेशन) मा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम सचिवलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका हुन् ।
गत पुस २५ गते नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्को द्विपक्षीय वार्ताका क्रममा जापानका लागि मुख्य श्रम स्रोतको रूपमा नेपाललाई राख्न आग्रहगर्नुका साथै नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।
दुईदिने नेपाल भ्रमणका क्रममा नेपाल आएका जापानी परराष्ट्रमन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा जापानमा नेपाली कामदार पठाउने विषयमा विस्तृत रूपमा छलफल भएको थियो । जापानले हालै त्यहाँको संसदबाट कामदार भर्ना सम्बन्धी नयाँ कानुन पारित गरेको छ ।



