रिजालको कम्पनीले गर्मीमा पानी नतात्ने ट्यांकी ल्यायो, तराईमा उपयोगी हुने |
विराटनगर । ‘रिजालको’ ब्रान्डमा खानेपानीका ट्यांकी उत्पादन गर्दै आएको रिजालको कम्पनीले गर्मी मौसममा पानी नतात्ने ट्यांकी उत्पादन शुरु गरेको छ ।
कम्पनीले यही चैत महिनादेखि ‘रिजालको कुल ब्लो’ ब्रान्डमा पानी नतात्ने खालका ट्यांकी उत्पादन शुरु गरेको हो । नेपालका तराई क्षेत्रमा चैतदेखि असोज महिनासम्म ट्यांकी पानी तात्ने र यसबाट नुहाउने लगायतका काम गर्न गाह्रो पर्ने हुन्छ । उपभोक्ताको समस्यालाई दृष्टिगत गर्दै कम्पनीले पानी नतात्ने प्रकारका टङ्कीको उत्पादन गरेको सञ्चालक नवीन रिजालले बताए ।
सञ्चालक रिजालले इन्सुलेसन ब्लो प्रविधिबाट उत्पादित यस प्रकारका ट्यांकी संसारमै नौलो र पहिलो भएको दाबी गरे । कम्पनीले २ सयदेखि २ हजार लिटर सम्म क्षमताका यस्ता ट्यांकी वार्षिक ७० हजार थान उत्पादन गर्ने लक्ष्य छ । ट्यांकी पानी भण्डारण गरेपछि तापक्रम २ डिग्री मात्र घटबढ हुने बताइएको छ ।
कम्पनीले रिजालको, पोलिटेङ्क, शीतल, पशुपति र हिमाल गरी ५ ब्रान्डमा ट्यांकी उत्पादन गर्दै आएकोमा ‘रिजालको कुल ब्लो’ पनि थपिएपछि ६ प्रकारका भएका छन् । कम्पनीले सबैभन्दा पहिले सन् २००१ देखि रोटो प्रविधिमा आधारित ‘रिजालको कुल’ ट्यांकी उत्पादन गरी पानी नतात्ने प्रकारका ट्यांकी बजारमा ल्याएको थियो ।
त्यसको १९ वर्षपछि इन्सुलेसन ब्लो नामक अझ अत्याधुनिक प्रविधिबाट नयाँ उत्पादन गरिएको बताइएको छ ।



