एनआईसी एशियाको नयाँ शाखा सप्तरीको महादेवामा |
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सेवा विस्तार तथा शाखा कार्यालय विस्तार गर्ने क्रममा फेरि अर्को शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको महादेवा गाउँपालिका– ६, महादेवामा नयाँ शाखा कार्यालयको स्थापना गरेको हो । उक्त शाखाको सोही गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले हिजो मंगलवार उद्घाटन गरेका हुन् ।
सो अवसरमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको तथा आफ्नो पालिका क्षेत्रका जनताले पनि यस बैंकको सहज, विश्वासिलो र भरपर्दो वित्तीय सेवा पाउनेमा आफू विश्वस्त रहेको बताउँदै बैंकको प्रशंसा गरे ।
हाल यस बैंकले २७९ शाखा कार्यालय, २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्नो उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल यस बैंकको वासलातको आकार रू. २१५ अर्ब, कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब रहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजारभन्दा बढी रहेको बैंकले जानकारी दिएको छ ।



