लगानीकर्ताले गरे आन्दोलनको घोषणा | चरणवद्ध आन्दोलनको मुख्य माग नै अर्थमन्त्रीको राजीनामा
काठमाडौं । पूँजी बजार (शेयर) का लगानीकर्ताहरूको एउटा समूहले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पूँजी बजारको सुधारका लागि आफूहरूले उठाएका मागहरू सरकारले पूरा नगरेको भन्दै शेयर बजार लगानीकर्ता दबाव समूहले अर्थमन्त्रीको बर्खास्ती मागलगायतका चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
समूहले आफ्नो मुख्य मागको रूपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । समूहका महासचिव नयन बास्तोलाले अर्थमन्त्री डा। युवराज खतिवडा पूँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बखास्तीको माग अघि सारेको बताए ।
यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउदेखि आमरण अनशनसम्म बसेका लगानीकर्ताहरूको उक्त समूहले आफ्ना पुरानै मागहरू अघि सारेर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
यसअघि पनि अर्थमन्त्री डा. खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतको राजीनामा माग गर्दै उक्त समूहले नै आमरण अनशन बसेको थियो ।
आफ्ना आंशिक मागहरू पूरा भएको दाबी गर्दै त्यस बेला आमरण अनशन तोडेको उक्त समूहले यस पटक गभर्नर, बोर्डका अध्यक्षलगायतको राजीनामाको माग भने राखेको छैन । चरणबद्ध आन्दोलनको पहिलो दिन चैत ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्री खतिवडालाई बर्खास्तीको मागसहित ज्ञापनपत्र बुझाउने महासचिव बाँस्तोलाले बताए ।
९ गतेदेखि शुरू हुने आन्दोलन १६ गतेसम्म निरन्तर चल्नेछ । १६ गते प्रधानमन्त्री तथा अर्थमन्त्रीको सार्वजनिक कार्यक्रमहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको बाँस्तोलाले बताए ।
यस्तो छ आन्दोलनको कार्यतालिका
चैत्र ९ गते अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने ।
चैत्र १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ ।
चैत्र ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ ।
चैत्र १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने ।
चैत्र १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने ।
चैत्र १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरूलाई नेपालको पूँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने ।
चैत्र १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने ।
चैत्र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने ।

