मुलुकलाई परनिर्भर हुनबाट बचाउन आन्तरिक उत्पादनलाई सबल बनाउनुसː मन्त्री पण्डित | साढे १५ करोडको कारोबार गर्दै १५ औं घरेलु उद्योग महोत्सव सम्पन्न
काठमाडौं । १५ करोड चालिस लाख रुपियाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
मेलाको समापन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए । नेपाली मौलिक उत्पादनहरुको आफ्नो बजारका साथै अन्तरराष्ट्रिय बजारमा पनि पुर्याउन के के गर्नुपर्छ सरकार तयार रहेको उनले बताए ।

पछिल्लो समय नयाँ बाटो भन्दै परनिर्भरतातर्फ मुलुक अग्रसर भएको भन्दै उनले भने, ‘मेला हेरेपछि म पनि उत्साही भएको छु । यहाँहरुको पनि उत्साह नघटोस । मुलुकलाई परनिर्भर हुनबाट बचाउन आन्तरिक उत्पादनलाई सबल बनाएर आयातको दरलाई रोक्न सघाउनुस ।’
उत्पादन बढाउनका लागि अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

मेलामा विहीबार २० हजारले अवलोकन तथा सवा करोडको कारोबार भएको थियो भने शुक्रबार ५० हजारले अवलोकन तथा तीन करोड रुपियाँको कारोबार भएको थियो । साथै शनिबार एक लाख १७ हजारले अवलोकन गरेका थिए भने छ करोड रुपियाँ बराबरको कारोबार भएको थियो । आइतबार दुई करोड ९० लाखको कारोबार भएको थियो भने एक लाख ३५ हजारले अवलोकन गरेका थिए । यसैगरी सोमबार दुई करोड २५ लाखको कारोबार तथा एक लाख ५३ हजारले अवलोकन गरेका छन् ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ सञ्चालित प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मेला सोंचेभन्दा पनि सफल भएको बताए । मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको उनले बताए । मेलाको मूल उद्देश्य नै “मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै” नेपालको र “नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं” भन्ने नारा मार्फत प्रकट गरेको उनले बताए ।
समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।
‘हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् । जसका कारणले युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।’ अध्यक्ष सिंहले भने, ‘परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या रहेको छ । यस्तै पक्षलाई सम्वोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडी देखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ ।’
महोत्सवको सह–आयोजक अर्गानिक एसोसियसन अफ नेपाल रहेको थियो । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा प्रदर्शनी आयोजना गरिएको थियो ।
पाँच दिनसम्म चलेको मेलामा २०५ वटा स्टल, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तरराष्ट्रिय स्टल रहेका थिए । पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको थियो ।
समापन समारोहमा उत्कृष्ट उद्यमीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
Visited 1 times, 1 visit(s) today


