पाल्पा सिमेण्ट उद्योगको परीक्षण उत्पादन | आरएमसी समूहको सिमेण्ट उत्पादन क्षमता अब प्रतिदिन ३ हजार मेटन
काठमाडौं । आरएमसी समूहले साढे ७ अर्ब रुपैयाँको लगानीमा नवलपरासीको सुनवल नगरपालिकाअन्तर्गत सिसियानीमा स्थापना गरेको सिमेण्ट उद्योगले परीक्षण उत्पादन शुरू गरेको छ । क्लिङ्करसहितको पाल्पा सिमेण्ट उद्योगको परीक्षण उत्पादन हिजो शुक्रवार आरएमसी समूहका सञ्चालक राजेश अग्रवाल, विष्णु अग्रवाललगायतको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको हो ।
मेशिनरी तथा उपकरण जडान कार्य शुरू भएको आठ महिनाको अवधिभित्रै जडान कार्य सम्पन्न गरेर परीक्षण उत्पादन गर्न सफलता मिलेको प्राविधिक सेवा प्रदायक भारतीय कम्पनी हाजिपिभी कम्पनीले बताएको छ ।
दैनिक १८०० मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमताको ग्रिन फिल्ड प्रविधिमा आधारित क्लिङ्कर उत्पादन प्लाण्ट स्थापना गरिएको हो । आरएमसी समूहअन्तर्गत बाराको सिमरामा आरएमसी ब्राण्डमा सिमेण्ट उत्पादन गर्ने ग्राइण्डिङ (अन्यत्रबाट तयारी क्लिङ्कर ल्याएर पिँध्ने) उद्योग सञ्चालनमा रहेको छ । यो उद्योगले प्रतिदिन ८ सय टन सिमेण्ट उत्पादन गरिरहेको छ ।
समूहले राजेश मेटलक्राफ्ट ब्राण्डमा जस्तापाता उत्पादन गर्दै आएको छ । पाल्पा सिमेण्ट उद्योग सञ्चालनमा आएसँगै आरएमसी समूहअन्तर्गतको सिमेण्ट उद्योगको प्रतिदिन सिमेण्ट उत्पादन क्षमता ३ हजार मेट्रिक टन पुगेको उद्योग व्यवस्थापनले जानकारी दिएको छ । पाल्पा सिमेन्ट उद्योगबाट पीपीसी, ओपीसी र पीएससी सिमेण्ट उत्पादन हुनेछ । उद्योग २२ विगाह क्षेत्रफलमा स्थापना गरिएको छ ।



