अमेरिकी लगानी आकर्षण गर्न कूटनीतिक तवरबाट सहयोग गर्न आग्रह |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच हिजो बिहीवार महासंघको सचिवालयमा भेटवार्ता भयो । उक्त भेटवार्तामा नेपाल–अमेरिका आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आयात निर्यात, संयुक्त लगानी, नेपालमा लगानीको वातावरण, नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन तथा आपसी सहकार्यका सम्भाव्य क्षेत्रहरूका विषयमा छलफल भएको महासंघले जानकारी दिएको छ ।
भेटवार्ता महासंघका विशिष्ट सदस्य, पूर्वअध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष (नेपाल) चण्डिराज ढकालसमेतको सहभागिता भएको हो ।
महासंघको कार्यकारिणी समितिका सदस्यद्वय जयप्रसाद शिवाकोटी र आकाश अधिकारी, अमेरिकी राजदूतावासका अधिकृतहरू र महासंघ सचिवालयका उच्च अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । भेटमा अध्यक्ष राणाले नेपालमा लगानीको वातावरण बन्दै गएकाले यतिखेर बाह्य लगानी, प्रविधि तथा विकासको मोडलसमेत खोजिरहेको नेपालका लागि अमेरिकी लगानी आकर्षण गर्ने कार्यमा कूटनीतिक तवरबाट सहयोग गर्न राजदूतसमक्ष अनुरोध गरिन् ।
मुलुकको आर्थिक विकासमा नेपाल सरकार अत्यन्त क्रियाशील रहेको यसका लागि कतिपय ऐन कानूनहरू (श्रम तथा सामाजिक सुरक्षा, फिट्टा, सेज आदि) समेत आइसकेको र बाँकी ऐन कानून पनि छिट्टै ल्याउने तयारी सरकार रहेको, श्रम सम्बन्ध सुमधुर बन्दै गएको, लोडसेडिङको समस्यासमेत हटिसकेकाले लगानीको वातावरण बनिरहेको उनले स्पष्ट पारिन् ।
महासंघका विशिष्ट सदस्य ढकालले नेपाल–अमेरिका बीच आपसी सम्बन्ध अत्यन्त प्रगाढ रहेको र महासंघका तर्फबाट समेत आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा विगतमा निर्वाह भएको भूमिकाको चर्चा गरे ।
राजदूत र्याण्डी बेरीले नेपालको आर्थिक विकासमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।


