इन्फ्रास्ट्रक्चर बैंकले औपचारिक कारोबार थाल्यो, अर्थमन्त्रीले गरे उद्घाटन |
काठमाडौं । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने मुख्य योजनासहित स्थापना गरिएको नेपाल पूर्वाधार विकास बैंक (इन्फ्रास्ट्रक्चर बैंक) आज बुधवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । उक्त बैंकको एक विशेष समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।
काठमाडौंको बानेश्वरस्थित कृष्ण टावरमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहे पनि प्रम ओली अस्वस्थताका कारण आउन नसकेपछि अर्थमन्त्री डा. खतिवडाले उद्घाटन गरेका हुन् । औपचारिक उद्घाटनसँगै बैंकले आजैदेखि कारोबार पनि शुरू गर्ने भएको छ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकलाई नेपाल राष्ट्र बैंकले गत माघ २८ गते सञ्चालन अनुमति प्रदान गरेको थियो ।
यो बैंक पूँजीका आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो । ४० अर्ब रुपैयाँ अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको यातायात, कृषि, ऊर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।
यो बैंक नेपाल सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंकहरू, बीमा कम्पनीहरू, लघुवित्त, निजी कम्पनीहरू तथा ठूला व्यावसायिक घरानाको संयुक्त लगानी र प्रयासबाट गत जेठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा स्थापना भएको हो ।
यस बैंकमा नेपाल सरकारको १० प्रतिशत तथा निजीक्षेत्रको ९० प्रतिशत लगानी रहेको छ । राष्ट्रिय, प्रादेशिक तथा स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनाहरूमा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र बाह्य स्रोत जुटाउनेलगायतका कार्यहरू यस बैंकले गनेछ ।



