सौर्य एयरलाइन्सले तिर्यो रू. ५० लाख, फागुन २४ देखि उडान, दुई महिनाभित्र सबै वक्यौता चुक्ता गर्ने |
काठमाडौं । करिब चार महीनादेखि उडान रोकिएको निजीक्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्कबापतको वक्यौता रकममध्ये पहिलो किस्ताबापत रू. ५० लाख तिरेपश्चात् उक्त कम्पनीले उडान नियमित गर्ने भएको हो ।
भारतीय कम्पनी कुबेर समूहले खरीद गरेको सौर्य एयरलाइन्सले जरिवानासहित करिब रू. ४ करोड बक्यौता रकम तिर्न अटेर गरेपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले गत मङ्सिर ११ गतेदेखि सौर्यका जहाज ग्राउण्डेड गराएको थियो ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सो कम्पनीले अबको १० दिनभित्र थप रू. ५० लाख र दुई महीनाभित्र सबै वक्यौता तिर्ने वचन दिएको बताए । सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले वक्यौता बुझाउँदै सेवा सञ्चालन गरिने जानकारी दिए । अबको एक महीनाभित्र सबै वक्यौता रकम तिरिसक्ने उनले उल्लेख गरे ।
आर्थिक संकटमा परेको सौर्य एयरलाइन्सलाई केही साताअघि मात्र भारतीय लगानीकर्ता कुबेर समूहले रू. ६३ करोडमा खरीद गरेको हो । उक्त समूहले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपालीका नाममा खरीद गरेको बताएको छ । हाल दुई ओटा बम्बार्डिएर जहाजमार्फत उडान गर्दै आएको सौर्यले अबको ६ महीनाभित्रै तीन ओटा एटीआर जहाज खरिद गर्ने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिए ।



