बागमतीको पानीबाट चैत ३ देखि २२ मेगावाट बिजुली | रुदी ‘ए’ ले पनि थाल्यो व्यावसायिक उत्पादन
काठमाडौं । काठमाडौंबाट बागमती हुँदै बगेर गएको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन आगामी चैत ३ गतेदेखि नै हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा निर्माण भइरहेको बागमती खोला साना जलविद्युत आयोजनाले बागमतीको पानी सदुपयोग गरी उक्त परिमाणमा विद्युत् उत्पादन थाल्ने भएको हो ।
नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन उक्त आयोजनाले हाल ‘ड्राइ टेस्ट’ गरिरहेको छ । यो आयोजना माण्डु हाइड्रोले निर्माण गरेको हो ।
चैत ३ गते परीक्षण उत्पादन शुरू गर्ने उक्त कम्पनीले तयसको १५ दिनपछि व्यावसायिक रूपमा उत्पादन थाल्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
सिस्नेरी दोभानमा संकलन गरिएको पानी टनेलमार्फत इपापञ्चकन्याको बेसीबगरमा पुर्याँदै विद्युत उत्पादन गर्नेछ । ०७२ जेठबाट निर्माण थालेको हाइड्रोले प्राधिकरणको ६६ केभी प्रसारण लाइनमा उत्पादन जोड्नका लागि ४४ वटा टावर निर्माणको काम पनि सम्पन्न गरिसकेको छ । उक्त आयोजनाले बागमतीको पानी सिस्नेरी दोभानमा ड्याम बनाई कुलेखानी, बागमती र कोगटेको पानी छेकेर सुरुङमार्फत इपाको बगरबेंसीमा विद्युत् उत्पादन गर्दै छ ।
ड्याम र पावर हाउसबीचको दुरी साढे २ किलोमिटर रहेको छ । हाइड्रोमा चाइनाको से च्वाङ हे च्वाङ, नेपालको हिमालयन इन्फ्रास्ट्रक्चर फन्डले लगानी गरेको छ भने मकवानपुरको माण्डु हाइड्रोपावर कम्पनीले प्रवद्र्धकको काम गरिरहेको छ । यस कम्पनीमा नेपालीको ५१ र चिनियाँको ४९ प्रतिशत शेयर रहेको छ ।
रुदी ए को पनि उत्पादन शुरू
यस्तै, हालै कास्कीमा बिन्ध्यवासिनी हाइड्रोले निर्माण गरिरहेको रुदी ‘ए’ जलविद्युत आयोजनाको पनि परीक्षण उत्पादन शुरू भएको छ । ८.८ मेगावाटको यो आयोजनाको विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिइसकेको छ । फागुन १९ गतेदेखि परीक्षण उत्पादन थालेको आयोजनाले त्यसको १५ दिनपछि व्यावसायिक उत्पादन थाल्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।




