सिटिजन्स बैंकद्वारा महाकवि देवकोटा माविलाई आर्थिक सहयोग |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई रू. एक लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम प्रदान गरिएको हो । बर्दिया जिल्लाको देवकोटा माध्यमिक विद्यालयमा अध्यनरत अत्यन्तै गरिव तथा थारु, मुस्लिम, मधेसी, जनजाती, दलित जातिका करिव १,३२५ बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा विद्यालयले जानकारी दिएको छ ।
उक्त सहयोगले विद्यालयका महत्वपूर्ण शैक्षिक विकाशका कार्यहरु सम्पन्न गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकासुरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।




