दार्चुलामा झण्डै रू. ७ अर्ब २० करोडको लागतमा अपर चमेलिया बन्ने भो |
काठमाडौं । अपि पावर कम्पनीले दार्चुलामा झण्डै ७ अर्ब २० करोडको लागतमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । उक्त आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनीबीच विद्युत खरिद विक्री सम्झौतासमेत भएको छ । उक्त सम्झौतापत्रमा प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
यो आयोजनाबाट वार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन हुने र त्यसमध्ये ३३ प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ६७ प्रतिशत वर्षातका महिनाहरूमा उत्पादन हुनेछ । यो आयोजना ‘टेक अर पे’ मा आधारित छ । कम्पनीले उत्पादन अनुमति प्राप्त गरी २०७६ सालबाट निर्माण शुरू गरी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । निर्माण सम्पन्न हुँदासम्म यस आयोजनाको लागत प्रतिमेगावाट १८ करोड रुपैयाँ पर्न सक्ने अनुमान गरिएको छ ।
अपि पावर कम्पनीले निर्माण गर्न लागेको योे आयोजना तेस्रो हो । अपिका यसअघिका आयोजना ८.५ मेवाको नौगाढ गाड र ८ मेवाको अपर नौगाढ गाड जलविद्युत आयोजना हुन् । यसमध्ये ८.५ मेवाको नौगाढ गाड निर्माण सम्पन्न भई विगत तीन वर्षदेखि राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत् प्रवाह गर्दै आइरहेको छ भने ८ मेवाको अपर नौगाढ गाड जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । कम्पनीको दोस्रो आयोजना अपर नौगाढ गाड आगामी चैत मसान्तभित्रमा सञ्चालनमा आउने लक्ष्य कम्पनीले लिएको छ ।
कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ केभी डब्बल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।



