सञ्चालनमा आयो कुसुम–हापुरे १३२ केभी प्रसारण लाइन |
दाङ । दाङको बबई गाउँपालिका–६ पञ्चकुलेमा रहेको कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
“दाङबाट लो भोल्टेज भयो भनेर पटक–पटक गुनासो आउने गथ्र्यो,” उनले भने, “अब भने त्यस्तो समस्या रहँदैन ।” दाङमा यसअघि लमहीबाट घोराही हुँदै तुलसीपुर ३३ केभीको प्रसारणलाइन मात्रै हुँदा कम भाल्टेजको समस्या रहेकाले अब भने हापुरेको सबस्टेसन सञ्चालन भएपछि दुई सय केभी विद्युत प्रसारण हुने मन्त्री पुनले बताए । सो दुई सय केभी विद्युतलाई प्रयोगमा ल्याउनसमेत उनले आग्रह गरे ।
‘पहिले लो भोल्टेज भनेर धेरै गुनासा आउँथे’ उनले भने ‘अब भने उत्पादन भएको एक तिहाइ विद्युत पनि प्रयोगमा आउँदैन कि भन्ने चिन्ता छ ।’ उनले दाङमा विभिन्न ठूला उद्योग खुल्ने र थप समृद्धिको मार्गमा लैजाने बताए ।
उनले तीन वर्षभित्र सबै नेपालीलाई विद्युतको पहुँचमा पुर्याउने लक्ष्य रहेको जानकारी दिए । उनले बाँझो जग्गालाई सञ्चित गर्न पनि मन्त्रालयले अध्ययन गरिरहेको बताए ।
मन्त्रायलका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजीत थारू, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल लगायतले दाङमा विगतजस्तो विद्युतभार कटौतीको समस्या अन्त्य हुने विश्वास व्यक्त गरे ।
उक्त सबस्टेसन रु ४३ करोड ८६ लाखको लागतमा निर्माण गरिएको हो । विसं २०६६ देखि निर्माण कार्य शुरु गरिएको सबस्टेसनको काम तीन सिफ्टमा पूरा भएको बताइएको छ ।



